अर्जुनधारा । झापाको अर्जुनधारा ११ मा रहेको महारानीगञ्ज माध्यमिक विद्यालयले २४९ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
पोशाक वितरणसँगै कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको जनाइएको छ । एसबीआई बैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई पोशाक उपलब्ध गराएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख दमयन्ती जोशी, वडाअध्यक्ष खगेन्द्र इङनामलगायतले पोशाक वितरणमा सहजीकरण गरेका थिए ।
विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई व्याग र जुत्ता वितरण गरिने व्यवस्थापन समितिका अध्यक्ष खतिवडाले जानकारी दिए । उनले यसै शैक्षिक सत्रदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था गरिने बताए । त्यसका लागि निजीस्तरमा शिक्षक तथा कक्षाकोठाको व्यवस्था गरिएको उनले बताए ।
विद्यालयमा कम्प्युटर ल्याव पुनर्निर्माण गरी यश शैक्षिक सत्रदेखि कम्प्युटर कक्षा सुरुवात गर्न लागिएको विद्यालयका प्रधानाध्यापक मनकुमार लिम्बूले जानकारी दिए ।
यसैबीच, गुणस्तरीय शिक्षाका लागि विद्यालयले अभियान सुरु गर्ने भएको छ । आफ्ना नानीहरुलाई सोही विद्यालयमा भर्ना गरेर अभियानलाई सहयोग गर्न विद्यालयले अभिभावकलाई आग्रह गरेको छ ।
यता, अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले सो विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई १ वर्षसम्म आवश्यक पर्ने स्टेशनरी प्रदान गर्ने भएका छन् ।