झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० स्थित धुलाबारीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहान १०ः४५ बजेको समयमा धुलाबारी बजारमा रहेको ज्योती कोईरालाले संचालन गरेको न्यु पाथीभरा भेराईटिजमा (ईलेक्ट्रोनिक्स पसल)मा आगलागी भएको थियो ।

 

धुलाबारी निवासी अजित लावतीको घरमा रहेको उक्त पसलमा विद्युत सर्ट भई अचानक आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १४ जनाको टोली र ईप्रका धुलाबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली खटिएको थियो ।

 

यस्तै, आगो नियन्त्रणका लागि मेचीनगर नपाको दमकल, भद्रपुर नपाको दमकल र बिर्तामोड नपाको दमकल साथै स्थानीयबासीको सहयोगमा बिहान ११ः३० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

 

उनका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । तर, लाखौँ रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा परी पसलमा रहेका फ्रिज, इक्डक्सन चुल्हो, राइस कुकर, प्रेसर कुकर, हिटर, कुलर लगायतका सामन जलेर पूर्णरुपमा नष्ट भएका छन् ।