तेह्रथुम । तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । हाते तानबाट ढाकाका कपडा उत्पादन गर्ने तेह्रथुमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार ढाका कपडाको राजधानी घोषणा गरेको हो।
ढाका कपडा बुन्ने सीप र कलालाई विश्वभर प्रचारप्रसार गर्न, व्यवसायीकरण र विविधीकरणका लागि सरकारले ढाका कपडाको राजधानी घोषणा गरेको जनाएको छ। म्याङलुङ नगरपालिकाले अयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरेका हुन् ।
‘तेह्रथुमको ढाका कपडा गुणस्तरीय र प्रसिद्ध पनि छ । तर कपडाको बजारीकरणमा सरकारको ध्यान पुगेको पाइएन,’ मन्त्रालयका सचिव पोखरेलले भने, ‘घोषणापछि भने सीप विकास, प्रविधिको बढावा र बजारीकरणमा पनि अगाडि बढाउनुपर्छ भनेर नै मन्त्रालयको चाहना अनुसार राजधानी घोषणा गरिएको हो।’
यसअघि मन्त्रालयले पाल्पालाई पनि ढाका कपडाको जिल्ला घोषणा गरेको थियो । मन्त्रालयले पाल्पा र तेह्रथुमलाई ढाका कपडा राजधानी घोषणा गर्ने कार्यक्रम चालु आर्थिक वर्षको कार्यक्रममा राखेको थियो। ढाका कपडालाई निर्यातयोग्य वस्तुका रूपमा अघि बढाएर लैजाने कार्यक्रम राखिएको सचिव पोखरेलको भनाइ छ ।
तेह्रथुमको ढाका कपडाको अनुसन्धान गर्न चाहनेहरूका लागि दातृ संस्था मार्फत् परिचालन गर्ने योजना पनि मन्त्रालयको छ । राजधानी घोषणापछि आगामी दिनमा मन्त्रालय वा अन्य दातृ निकायबाट कार्यक्रम गर्न पनि सहज हुने म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले बताए।
पछिल्लो समय तेह्रथुमे ढाका कपडाको उत्पादन र बजारीकरणमा व्यवसायी र साना उद्यमीसमेत सक्रिय भएर लागेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत कृष्णप्रसाद पोखरेलले बताए । राजधानी घोषणापछि हरेक हिसाबले कार्यक्रम गर्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई कार्यक्रम गर्न दबाब पर्ने उनको भनाइ छ ।
तेह्रथुम हाते तानबाट बुनिने ढाका कपडाको लागि प्रसिद्ध मानिन्छ । ढाकाको प्रवर्द्धनका लागि यस अघिदेखि नै म्याङलुङ नगरपालिकाले सहयोग गरिरहेको प्रमुख प्रशासकीय अधिकृत गिरीराज भटराईले बताए । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा १ सय ४५ वटा ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् ।
तर, १ हजारभन्दा बढी उद्योग दर्ता बिना नै सञ्चालनमा रहेको हुनसक्ने कार्यालयको अनुमान छ । यी उद्योगमा करिब १ अर्बभन्दा बढी रुपैयाँ लगानी रहेको कार्यालयको अनुमान छ । जिल्लाको ढाका उद्योगमा ५ हजार बढी जनशक्तिले रोजगारी पाएको कार्यालय प्रमुख उद्योग अधिकृत पोखरेलले जानकारी दिए । यस्तै ढाका कपडा बुनाइ सम्बन्धी तालिम लिनेको संख्या १० हजार भन्दा बढी छ । इकान्तिपुरबाट