इलाम । इलामका किसानले किवीको विरुवा बिक्री गरेर आम्दानी गर्न थालेका छन् । विश्वमा पाइने ७ प्रकारका किवी फलमध्ये बढी मूल्यमा बिक्री हुने हे-वार्ड जातको किवी फलको इलाममा विरुवा उत्पादन हुन थालेपछि यसको आम्दानीले किसानको दैनिकी फेरिन थालेको छ ।

 

विश्व बजारमा बढी मूल्यमा बिक्री हुने हे-वार्ड जातको किवी फलको विरूवा इलामको सन्दकपुर गाउँपालिकामा उत्पादन सुरू गरेपछि यसको विरूवाले बजार लिन थालेको छ । ७ प्रजातिका किवी फलमध्ये हे-वार्ड जातको किवी फलको उत्पति न्यूजिल्याण्डमा विकास गरिएको जात हो । खेती गरिएको किवीका जातहरूमध्ये विश्वमै सबैभन्दा बढी प्रशिद्धि पाएको जात हे-वार्ड पर्छ ।

 

जसका कारण इलामको माइपोखरी हर्वल अर्गानिक एग्रिकल्चर फार्म सन्दकपुरमा हे–वार्ड जातका किवीका विरूवा उत्पादन थालिएको छ । किवी फलको व्यापारमा ९८ प्रतिशत यसै जातको माग भएकाले पोहिलो पटक विरुवा उत्पादन सुरू भएको हो । हे-वार्ड जातको किवी फलको आकार चेप्टो फराकिलो भई लम्बाई भन्दा चौडाई बढी हुने भएकाले विरूवाको माग बढेसँगै सन्दकपुर ३ मा विरूवा उत्पादन सुरू भएको हो ।

 

फलको तौल एक सय ग्रामभन्दा बढी हुने, ८ महिनासम्म स्टोर गर्न सकिने भएकाले विरूवाको उत्पादन भएको फार्म संचालक देउकुमार राईले बताउनुभयो । हे-वार्ड जातको किवीले ५० वर्षसम्म उत्पादन दिन्छ । विश्व बजारमा हे–वार्ड जातका किवी फलको माग बढी मात्रामा भएकाले विरूवा उत्पादन सुरु भएको हो ।

 

माइपोखरी हर्वल अर्गानिक एग्रिकल्चर फार्ममा यस वर्ष पन्ध्र हजार विरुवा उत्पादन हुने भएको छ । अरू जातको तुलनामा स्वाद मिठो र बासनादार गुलियो हुने भएकाले विरूवा उत्पादनलाई प्राथमिता दिएको हो । फलको बोक्रा हल्का हरियो रंगको र बाक्लो झुस भइकन पनि नरम खालको हुन्छ । यो जात अन्य जातको तुलनामा एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने गर्छ ।

 

हे-वार्ड जातको किवी फलको मूल्य न्यूनतम ४ सय रुपैयाँ रहेको छ भने विरूवा ३ रुपैयाँमा बिक्री हुँदै आएको छ । इमेज खबरबाट