झापा । पूर्वी नाका मेचीनगरको काँकरभिट्टा क्षेत्रबाट गए मध्यरात र आज बिहान प्रहरीले डेढ क्वीन्टल सुपारी र अवैधरुपमा ओसार पसार गर्दै गरेको अवस्थामा कपडा बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो शनिबार राति १० बजेतिर मेचीनगर ६ बाट नेपालबाट भारततर्फ तीन बोरा सुपारी लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । यस्तै, आज बिहान ३ः४५ बजे सोही स्थानबाट २ बोरा सुपारी जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बरामद गरेका छ । दुवै सुपारीको अन्दाजी मूल्य ८० हजार भएको जनाइएको छ ।

 

सोही समयमा भारतबाट नेपालतर्फ कर छलेर अवैधरुपमा ल्याइँदै गरेको ४ पोका कपडा पनि प्रहरीले बरामद गरेको छ । बरामद कपडाको बजारमूल्य अन्दाजी ३ लाख २० हजार जनाइएको छ ।

 

बरामद सुपारी र कपडा आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।