इलाम । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गरिने बताएका छन् । मन्त्री बिष्टले बार्ता र छलफलको माध्यमबाट समस्या समाधान गरिने बताए ।
इलामको चिया मजदुरको समस्या बुझन इलाम आएका बिष्टले उद्योग, किसान र मजदुर सबैको हितमा काम गर्न तथा चियामा देखिएको समस्या समाधान गर्न मन्त्रालय गभिंर रहेको पनि बताए । शुक्रबार इलामको कन्याममा आयोजित कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रतिनिधि, उद्योगी मजदुर तथा किसानहरुको उपस्थिति रहेको थियो ।
‘चिया उद्योगी र मजदुर बिच देखिएका समस्या टुंगिएको आफुले जानकारी पाएको छु’, मन्त्री बिष्टले भने, ‘समस्या समाधानमा पहल गर्ने सबैपक्षलाइ म धन्यबाद ब्यक्त गर्दछु।’ सूर्योदय नगरपालिकाको आयोजनामा चिया उद्योगी किसान तथा जनप्रतिनिधि बिच फिक्कलमा पनि छलफल भएको छ ।
सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गा देवि भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा श्रम तथा रोजगार मन्त्री बिष्ट प्रदेश सांसद धिरेन्द्र शर्मा, राम बहादुर राना, काजीमान कागते, श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश प्रसाद दहाल, नेपाल चिया विकास निगमका अध्यक्ष सुवाष साङघाइ, सूर्योदय टि एसोसिएसनका अध्यक्ष पुनम वान्तवा लगायतको सहभागीता थियो ।
एसोसिएसनका सचिव गोपाल कट्टेल, साना कारखानाको तर्फबाट सोनाम लामा एसोसिएसनका अध्यक्ष पुनम बान्तवा लगायतले चियामा देखिएका समस्याहरुबारे मन्त्री बिष्टलाई जानकारी गराएका थिए ।
यस अघि सूर्योदय टि एसोसिएसनको तर्फ बाट मन्त्री बिष्टलाइ २५ बुदे माग सहितको ज्ञापन पत्र पनि बुझाँइएको थियो । यसै बिच सूर्योदय नगरापलिकाकी उपप्रमुख दुर्गादेबी भट्टराईले चिया र कफिलाई अलग अलग बोड मार्फत विकास गर्न आवश्यक रहेको बताएकी छिन् । मन्त्री बिष्ट सगको भेटमा उपप्रमुख भट्टराईले दुबै बाली एकै ठाउ राख्दा काम गर्न असजिलो भएको सुनाइन् ।
उनले चियाको अक्सन सेन्टर लोगो लगायतका बिभिन्न विषय उठान गर्दै चियामा नगरपालिकाले उच्च दुरदृष्टिका साथ लागेको पनि बताइन् । मन्त्री बिष्टले शुक्रबार बिभिन्न चिया कारखानाहरुको अवलोकन गर्दै उद्योगी किसान र मजदुर सग भेटघाट पनि गरेको बताइएको छ ।