इलाम । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट इलामका अग्रज पत्रकार सटेन्द्र जवेगू पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार सदरमुकाममा आयोजित कार्यक्रममा फोनिज इलामले जबेगूलाई पुरस्कृत गरेको हो ।

 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई र इलाम नगरका प्रमुख केदार थापाले पत्रकार जवेगूलाई दोसल्ला, सम्मानपत्र र १० हजार रुपैयाँको चेक प्रदान गरे ।

 

विगत अढाई दशकदेखि इलामे पत्रकारितामा क्रियाशील जवेगू नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य एवम् इलाम शाखाका पूर्व अध्यक्ष हुन् । हाल इलामबाट प्रकाशित इलाम पोष्ट दैनिकका सम्पादक र इलाम आवाज साप्ताहिकका प्रकाशक रहेका जवेगू फोनिज इलामका सल्लाहकार समेत हुन् ।

 

फोनिज इलामले स्थापना गरेको सो पुरस्कार पहिलो पटक वितरण गरेको हो । पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले गतवर्ष आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष स्थापना गरेको थियो । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी कोष स्थापना गरेको हो ।

 

पुरस्कार कोषमार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ ।