इलाम । झापाका एक युवाले ‘पाँच अ’ को जिल्लाका रुपमा परिचित इलामको सलकपुरलाई नमूना पर्यटकीय गन्तव्यका रुपमा चिनाउने जमर्कोसहित पर्यटन व्यवसाय सुरु गरेका छन् ।

‘सुन्तलाको हब’का रुपमा पहिचान स्थापित गरेको सलकपुरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर त्यहाँको पर्यटकीय विशेषता उजागर गर्न आँट गर्ने ती युवा हुन्–झापा मेचीनगर ६ का विशाल श्रेष्ठ ।

युवाहरु स्वदेशमा रोजगारी नभेटेर वा नखोजी दिनहुँजसो विदेश गइरहँदा उनी भने पर्यटन प्रवद्र्धनका लागि केही गर्नुपर्छ र स्वदेशमै स्वरोजगार बन्नुपर्छ भन्ने मनशायले पर्यटन विकासमा होमिएका हुन् ।

पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त तर, भौगोलिक रुपमा विकट क्षेत्र पूर्वी इलामको सलकपुरमा ‘द जंगल ९९ इको फुलफिल गार्डेन’ सञ्चालन गरेका श्रेष्ठ त्यस क्षेत्रको पर्यटन विकासका लागि सम्भावनाको खोजी गर्दैछन् ।

एकल लगानीमा काँकरभिट्टाबाट उत्तरतर्फ करिब २४ किमी दूरीमा पर्ने रोङ गाउँपालिकाको वडा नम्बर ६ स्कूल डाँडामा पर्यटकमैत्री सुविधा सम्पन्न होटल सुरु गरेर पर्यटक आकर्षित गर्ने अभियानमा जुटेका छन् उनी ।

‘७ महिना भयो, १० वर्षका लागि १६ रोपनी माटो लिजमा लिएको छु’ श्रेष्ठले भने–‘अरु ५ वर्ष थप गर्ने सोचमा छु, पहिलो वर्ष वार्षिक ४२ हजार रुपैयाँ बु्झाउने शर्त छ, वर्षैपिच्छे केही प्रतिशत रकम थप गर्ने सम्झौता छ, त्यसपछि ४० रोपनी लिजमा लिन्छु ।’

काँकरभिट्टा बहुमुखी क्याम्पसबाट मानविकी संकायमा कक्षा १२ सम्मको अध्ययन पूरा गरी ठेक्का पट्टा र जेसिभी अपरेटर पेशा गर्दै आएका २७ वर्षीय उनले होटलमा अहिले ६ जना स्थानीय युवालाई रोजगारी समेत दिएका छन् ।

होटल सञ्चालनका लागि हालसम्म १० लाख रुपैयाँ लगानी भइसकेको जानकारी दिँदै श्रेष्ठले भने–‘यो त सुरुवात मात्र हो, योजना ठूलो छ, काम थुप्रै बाँकी छन्, लगानी अझै बढ्छ ।’

‘घर परिवार र साथीभाईले विदेश जान सल्लाह नदिएका होइनन्, अहिलेसम्म गइन र अब त जान्न पनि’ वैदेशिक रोजगारी बारेको जिज्ञासा प्र्रस्ट्याउँदै विशालले थपे–‘रोजगारीकै लागि जान्न, पर्यटन मेरो रुचीको विषय हो, यसलाई क्रमशः व्यवस्थित गर्दै २५ जनालाई रोजगारी दिने योजना छ ।’

गत वैशाखबाट सञ्चालन भएको होटलले निकट भविष्यमा होमस्टे, क्याम्पिङ, क्याम्प फाइरिङ, फिसिङ ट्रेनिङ, हाइकिङ, जंगल सफारीको सेवासहित १ सय ५० जनासम्म पर्यटकलाई खानपान र बसोबासको व्यवस्थापन गर्ने योजना बनाएको छ ।

होटलले विदेशी पाहुनाका लागि पारिवारीक वातावरणमा नेपाली परम्परागत खाना र खाजाका परिकार, चुलोको स्वादका परिकारको सुविधासहित हेमवर्क (झोलुङ्े) ग्रामिण परिवेशको झल्को दिन डोको भिर्ने, हलो जोत्ने, घाँस काट्ने, जाँतो पिँध्ने, ढिकी कुट्ने, गाई दुहुने, घोडा सफारीलगायतका सेवा प्रदान गर्नेछ ।

लिजमा लिइएको जमिनको छुट्टा–छुट्टै प्लटमा अन्नबाली, नगदेबाली, फूलबारी, फलफूल, सागसब्जी, जडीबुटी, अन्य वनस्पति, लोकल कुखुराको फर्म रहने जानकारी गराउँदै उनले आगन्तुक पाहुनाले न्यून शुल्कमा आफ्नै बारीमा उत्पादीत अग्र्यानिक परिकार र ढुंगामा पोलिएको मासुको स्वाद लिन सक्ने बताए ।

सलकपुरबाट नेपाल र भारतका विभिन्न मनोरम गन्तव्यको दृश्यावलोकन गर्न सकिने भन्दै पर्यटनप्रेमी युवा उनले त्यहाँबाट कञ्चनजंघाको हिम चुचुरो, भारतको मिरिक, खर्साङ, ल्वागढ, सिलीगुडी, श्रीअन्तुको भ्यू टावर र सिंगो झापा देखिने बताए ।

‘छिन्छिन्मा बद्लिइरहने मौसमले पर्यटक लोभिन्छन्, जाडो, गर्मी, चिसो सिरेटो, हुस्सु, झरी, बादल देख्न र अनुभव गर्न सकिन्छ’ सलकपुरको प्राकृतिक वातावरण बुझाउँदै विशाल भन्छन्–‘यहिँबाट सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ, असले झरना, ध्यान गर्ने वातावरण, चराचुरुंगीका आवाज, जंगली जनावर र अन्य मनमोहक दृश्य यहाँका विशेषता हुन् ।’

पर्यटन व्यवसायका माध्यमबाट समग्र सलकपुरको प्रचार–प्रसार गर्ने अभियान सुरु गरेका युवा पर्यटन व्यवसायी श्रेष्ठले आम्दानीको केही हिस्सा स्थानीय मोतिराम माविका विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्चिने बताए ।