झापा । झापाको मेचीनगर ९ स्थित बालुवाटारमा रहेको दुना-टपरी फ्याक्ट्रीमा आगलागी हुँदा करिब २ करोड बराबरको क्षति भएको छ । सुपारीको पातबाट दुना टपरी बनाउने लिप प्लस प्रालिमा गएराति आगलागी भएको हो ।

 

आगलागी हुँदा मेशिन, औजार र तयारी सामान जलेर नष्ट भएको छ । राति १२ः५० बजे शुरु भएको आगलागी बिहान २ः४० बजेमात्र नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए । अचानक आगलागी भएको भन्ने खबर राति १ बजे ईलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली खटिएको थियो ।

 

यस्तै, स्थानीयबासी, मेचीनगर नगरपालिका, कमल गाउँपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिकाको दमकल र प्रहरी सहयोगमा बिहान २ः४० बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।आगलागीको कारण खुल्न सकेको छैन ।

 

मेचीनगर ९ बालुवाटार बस्ने हरि दाहाल, दाङ घोराही उपमहानगरपालिका १७ बस्ने स्वाभिमान आचार्य, तुलसीपुर उपमहानगरपालिका १८ बस्ने विधान पोखरेल र मकवानपुर हेटौडा उपमहानगरपालिका ५ बस्ने कोबिडसिंह बानियाले सो उद्योग संचालन गर्दै आएका थिए । आगलागीबाट करिब दुई करोड बराबरको क्षति भएको संचालक हरि दाहालले बताए ।