बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको खुद नाफा २ करोड ४९ लाखभन्दा बढी रहेको छ । आज अर्जुनधारामा आयोजित १५औं वार्षिक साधारणसभा एवम् तेस्रो एकीकरण सभामा उक्त जानकारी दिइएको हो ।
अर्जुनधारा ७ स्थित सामूहिक उद्धार तथा उपकार संघको सभाहलमा खुदुनाबारी, बुधबारे र शनिश्चरे सेवा केन्द्रअन्तर्गत रहेका शेयर सदस्यहरुको उपस्थितिमा आयोजित उक्त सभाको उद्घाटन प्रमुख अतिथि ज्येष्ठ नागरिक माधवप्रसाद तिम्सिनाले गरेका थिए ।
शनिश्चरे सेवा केन्द्रका संयोजक रमेश तिखत्रीको अध्यक्षतामा आयोजित उक्त सभामा संस्था सञ्चालक समितिका अध्यक्ष केशव बस्नेतले संस्थाको गत आर्थिक वर्ष ०७८/०७९को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा ४१ हजार ३९० जना शेयर सदस्य रहेको उक्त संस्थाको जम्मा शेयर पुँजी १६ करोड छ लाख ७७ हजार दुई सय १८ रुपैयाँ छ पैसा उल्लेख गरिएको छ । कात्तिक महिनासम्म सेयर सदस्यकाे संख्या ५० हजार नाघेकाे दाबी गरिएकाे छ । त्यसैगरी संस्थाको जम्मा निक्षेप ६४ करोड ८२ लाख चार हजार दुई सय ७३ रुपैयाँ चार पैसा, जम्मा ऋण लगानी ८३ करोड ६० हजार तीन रुपैयाँ पाँच पैसा र खुद नाफा दुई करोड ४९ लाख ३२ हजार दुई सय तीन रुपैयाँ ४२ पैसा रहेको छ ।

गत आर्थिक वर्षमा १० अर्ब १० करोड ८० लाख पाँच सय ३१ रुपैयाँ ८० पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्ष ०७९/०८०मा चार करोड ३१ लाख नौ हजार सात सय ३० रुपैयाँ छ पैसा खुद नाफा गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख राजविक्रम खड्का, सदस्य चित्रकला पौडेल, माधव अर्यालयलगायतले शुभकामना मन्तव्य राखेका थिए । खुदुनाबारी सेवा केन्द्रका संयोजक होमनाथ दुलालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव मनोज भट्टराईले गरेका थिए ।
गत कात्तिक १५ गतेदेखि सुरु भएको उक्त सभा यही मंसिर १० गते झापाको बिर्तामोडमा सम्पन्न हुने संस्थाको कार्यतालिकामा उल्लेख गरिएको छ । झापासहित छिमेकी जिल्लाहरु इलाम र मोरङ पनि कार्यक्षेत्र रहेको उक्त संस्थाअन्तर्गत २८ वटा सेवा केन्द्र सञ्चालनमा रहेको छ ।