झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजना बुद्धशान्तिमा पक्राउ परेका छन् । एक जना फरार भएका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका वडा नं. १ घर भइ हाल बुद्धशान्ति गाउँपालिका वडा नं ३ बस्ने ३१ वर्षीय मोहमद हुसेन रहेका छन् ।
गएराति ९ बजे बुद्धशान्ति वडा नं ३ बुद्ध टोलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले हुसेनलाई चेकजाँच गर्दा उनको साथबाट १०२ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
पक्राउ गरी सोधपुछ गर्दा मेचीनगर नगरपालिका वडा नं ८ बस्ने विकास राजवंशीसहित भारतमा गई खरिद गरी ल्याएको भनी बताएपछि राजवंशीको घरकोठामा गई चेकजाँचगर्दा उनले कोठामा लुकाई छिपाइ राखेको थप २५ ग्राम २५० मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु फेला परेको थियो ।
बरामद भएको १२७ ग्राम २५० मिलिग्राम ब्राउन सुगरसहित हुसेनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको र राजवंशी फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।