बिर्तामोड । झापाको मेचीनगरमा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउद्देश्यको सहकारी संस्थाले ३०औं वार्षिक साधारणसभाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको बिर्तामोडस्थित कार्यालयमा आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले संयुक्त रुपमा आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

 

कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले कोरोनाको कहर र मुलुकमा व्याप्त वित्तीय संकटका बाबजुद संस्था सहजरुपमा अघि बढिरहेको बताए । ‘संस्था बहु व्यवसाय सञ्चालन गर्ने योजना अनुरुप अघि बढिरहेको छ’, उनले भने, ‘त्यसमा पनि कृषिलाई प्राथमिकता दिएर अघि बढेका छौं, कृषिमा आधारित व्यवसायाई प्राथमिकता दिएका छौं ।’

 

पत्रकार सम्मेलनमा अध्यक्ष उप्रेतीले हालसम्म संस्थाले १३ वटा सहकारीसँग एकीकरण गरिसकेको र तीन वटा एकीकरणको तयारीमा रहेको पनि जानकारी गराए ।

 

संस्थाको साधारणसभाको कार्यक्रम अन्तरगत मंसिर १८ गतेदेखि इकाइगत साधारणसभा हुने भएको छ भने पुस २ गते अन्तिम माइन्युट प्रमाणिकण भेला हुने जनाइएको छ ।

 

झापा, मोरङ र इलाम जिल्लामा कार्य क्षेत्र रहेको एनएमसीले विभिन्न ८० वटा इकाइबाट कृषि, वित्तीय, पसल लगायतका सेवा प्रदान गर्दै आएको छ । ती इकाइहरुमा १ हजार १२५ जनाले रोजगारी पाएका छन् ।

 

संस्थामा गत आव २०७८/०७९ सम्म १ लाख ३५ हजार जना शेयर सदस्य रहेका छन् । त्यस्तै, शेयर पुँजी एक अर्ब ३५ करोड ५८ लाख ९५ हजार, निक्षेप मौज्दात आठ अर्ब ६५ करोड ७६ लाख ८५ हजार, कोष हिसाब ८९ करोड ७२ लाख ३५ हजार र कर अघिको नाफा १३ करोड ६७ लाख २५ हजार रहेको छ ।

 

संस्थाले वित्तीय कारोबारसँगै डेरी, चिया उद्योग, एकीकृत नमूना कृषि फर्म र सहकारी पसल सञ्चालन गर्दै आएको छ । संस्थाले मंसिर ११ गतेदेखि सहकारी पसल मार्फत आफ्ना सदस्यलाई पसलमा उपलब्ध सामग्री उधारोमा दिने योजनासमेत ल्याएको छ ।

 

संस्थाका प्रमुख कार्यकारी लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रमको समापन संस्थाका बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले गरेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य तथा पदाधिकारी एवम् संस्थाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।