शनिश्चरे । सहारा नेपाल साकोसको इकाइगत साधारणसभा शनिबार अर्जुनधारामा सम्पन्न भएको छ । अर्जुनधाराको शनिश्चरे, खुदुनाबारी र इलामको दानाबारी सेवाकेन्द्रको इकाइगत साधारणसभा सम्पन्न भएको हो ।

 

सहारा नेपालका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षता तथा अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष राजवंशीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

कर कट्टीपछि सहारा नेपालको खुद नाफा ४९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । कुल पुँजी साडे १५ अर्ब पुगेको संस्थाले १६ प्रतिशत बोनस वितरण गरेको छ । वर्तमान विषम परिस्थितिमा पनि संस्थामा २ अर्बको तरलता अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

कुल सदस्य संख्या १ लाख ५९ हजार ७७८ रहेको सहारा नेपालको शेयर पुँजी १ अर्ब ६३ करोड पुर्याएको छ भने १३ अर्ब कर्जा लगानी गरेको छ । यस्तै, जगेडा कोषमा १ अर्ब ११ करोड रहँदा ४५ करोडको अन्य कोष स्थापना गरेको छ ।

 

यस्तै, १ अर्ब ७२ करोड बाह्य ऋण रहँदा ९ अर्ब ८५ करोड बचत रहेको छ भने सम्पत्ति ४१ करोड रहेको छ । २ अर्ब ५ करोड आय रहँदा १ अर्ब ५५ करोड व्ययको अवस्था छ ।

 

संस्थाका सदस्य सचिव महेन्द्रकुमार गिरीले २७बुँदे नीति तथा कार्यक्रम प्रस्ताव गरेका छन् । जसमा शेयर लाभांश र संरक्षित पुँजी कोष वितरण, रोजगार शाखा स्थापना गर्ने, गरिबहरुको साथमा सहारा, सामाजिक सुरक्षा योजना प्रभावकारी देखिन्छ ।

 

यस्तै, स्वास्थ्य सेवा योजना, कृषि-पशु व्यवसाय प्रवद्र्धन योजना, संस्कार र संस्कृति जगेर्णा गर्ने योजना, सामुदायिक विकास योजनालगायत २७ वटा बुँदाको प्रस्ताव नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

कार्यक्रममा संस्थाका सहकोषाध्यक्ष नेत्रबहादुर नेपालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने विभागीय प्रमुख काशीनाथ नेपालले लेखा समिति र लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

शनिश्चरे सेवा केन्द्र सहयोग समितिका संयोजक छविलाल खतिवडाले स्वागत गरेको सहारा नेपालको अन्तिम माइन्यूट प्रमाणिकरण साधारणसभा पुस ९ गते चारपाने हुनेछ ।