फाइल तस्वीर

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो ।

 

यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको निगम स्रोतले जनाएको छ । ‘बोर्ड अध्यक्ष (वाणिज्य तथा आपूर्ति सचिव) देशबाहिर हुनुहुन्छ, उहाँ फर्किएलगत्तै बोर्ड बैठक बसेर केही न केही मूल्य समायोजन गर्नेछौं’, स्रोतले भन्यो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो ।

 

नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रुपैयाँ छ ।

 

विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा निगमको बक्यौता तथा ऋण रकम थपिएको हो ।

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झरेको छ । शुक्रबार साढे ३ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८०.३ डलरमा झरेको छ । त्यस्तै मुर्बान तेलको प्रतिब्यारेल ७९.२, डब्लूटीआई तेलको मूल्य ७५.१ डलरमा झरेको छ । डेढ महिनामा समग्रमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५ डलर हाराहारीमा घटेको छ । इकान्तिपुरबाट