झापा । अब एक रुपैयाँमा एक कप चिया पाइन्छभन्दा आश्चर्य मान्नु नपर्ने भएको छ । चोक बजारदेखि रेष्टुरेन्टमा कम्तिमा १० रुपैयाँदेखि २५ रुपैयाँसम्म एक कप चियाको मूल्य तिर्दै आएका चियाका पारखीलाई झापाको बिर्तामोड आयोजित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ मा एक रुपैयाँमा नै चिया उपलब्ध गराइएको छ ।

 

महोत्सवमा आउने दर्शकलाई मेलाको छुट्टै रौनकता प्रदान गर्ने उद्देश्यले एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवलाई थप आकर्षक बनाउने प्रयत्न गरिएको हो ।

 

‘रंग छिटो खाँदा मिठो’ भन्ने नारासहित अर्जुनधारा ६ मा रहेको सीता चिया तथा घरेलु मसला उद्योगले एक रुपैयाँमै मेजमान नामक चिया वितरण गरिरहेको छ । नेपालको चिया विश्वसामु चिनाउने उद्देश्यले व्यवसायीद्वय चक्र कार्की र नरेश सापकोटाले चिया उपलब्ध गराउन शुरु गरेका हुन् ।

 

सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र बिना मिसावटको शुद्ध चिया उपलब्ध गराउन थालेसंगै महोत्सवमा आएका अवलोकनकर्ताले चियाको गुणस्तको समेत तारिफ गर्न शुरु गरेका छन् । मिसावटरहित बिना फ्लेवरको चिया एक रुपैयाँमा नै उपलब्ध गराउन थालेपछि भारत, बंगलादेश र पाकिस्तानबाट मेलामा सहभागिताका लागि आएकाहरुले समेत नेपालको चियाको चुस्की लिँदै रमाइरहेका छन् ।

 

कार्की इलाम श्रीअन्तु निवासी हुन् । उनले मोवाइल ब्यवसाय छाडेर सेवासंगै व्यवसायलाई जोडेर अहिले नेपाली चियालाई प्रवद्र्धन गर्न शुरु गरेका हुन् । आफ्नै ठाउँमा उत्पादन भएको कृषिजन्य बस्तुको बजारीकारण गर्दै विश्व बजारमा नेपाली चियाको गुणस्तर चिनाउन सके त्यसैबाट मनग्य विदेशी मुद्रा आर्जन गर्न सकिने उनको भनाइ छ ।

 

चियाका पारखीलाई सेवा प्रदान गर्दै व्यवसायसमेत गरिरहेका उनले तीन जनालाई रोगजारीसमेत दिएका छन् । उनले चियाका उत्पादन झापा, इलाम, बिराटनगर, इटहरी, जनकपुर, चितवन, काठमाडौं, बुटवल, पोखरा, दाङ, नेपालगञ्ज र धनगढीका विभिन्न पसल, डिपार्टमेन्ट स्टोरहरुमा उपलब्ध गराउँदै आएका छन् ।

 

११ दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विभिन्न औपचारिक कार्यक्रमका साथै साङ्गीतिक प्रस्तुतिका साथ शुरु भएको महोत्सवको अवलोकन गर्न विभिन्न जिल्लाबाट अवलोकनकर्ताको आगमन शुरु भएको छ भने भारत लगायतका तेस्रो देशबाट समेत अवलोकनकर्ताहरु आउनु शुरु गरेको महोत्सव मूल आयोजक समितिका संगयोजक राजु न्यौपानेले बताए ।