बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ । महोत्सवमा विभिन्न प्रकारका आर्थिक कारोबारले समेत तिव्रता पाएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने अन्तर्राष्ट्रिय महोत्सवमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ तथा मोरङ र सुनसरीका अवलोकनकर्ताहरुको संख्या बढेको जनाइएको छ ।
महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सहुलियत योजना समेत ल्याइएको छ । महोत्सवमा एक रुपैयाँमा चिया पिउन पाइन्छ भने जुम्लाको मार्सी चामलदेखि दलहनका सामानहरु समेत सुपथ मूल्यमा पाइने गरेको छ । जुम्लाको सिज्जाबाट महोत्सवमा सहभागी बनेकी गोमा बुढाले सञ्चालन गरेको देउती अग्र्यानिक स्टलमा ग्राहकको भिड लाग्ने गरेको छ ।
पश्चिम नेपालको जुम्लामा उत्पादन भएका खाद्यवस्तुको स्टलमा जौँको चामल, मकैको चामल, फापरको चामल, भुटेको र काँचो मकै, मार्सी चामल, कालो जुम्लेली चामल, रातो दाल, कालो दालमात्र नभएर कोदोको पिठो, फापरको पिठो पाइन्छ भने दालमा हाल्ने जुम्लेली जिम्मो पाइने बुढाले बताइन् ।
पश्चिम नेपालमा आठ महिनामा मात्रै खाद्यवस्तु पाक्ने गरेकाले पोषणको हिसाबले पनि यी खाद्यवस्तु राम्रो भएको बुढाले दाबी गरिन् । महोत्सवमा आउने अवलोकनकर्ताले अधिकतम् ३५० रुपैयाँमा आफ्ना सामानहरु किन्न सक्ने उनको भनाइ छ । काठमाडौंमा प्याकेजिङ गरेर ल्याइएका सामग्री अग्र्यानिक भएको र कतै मिसावट नभएको उनको दाबी छ ।
महोत्सवमा एक किलो थकाली चामल खरिद गरेमा ग्राहकलाई निशुल्क भोजनका साथै आकर्षक पुरस्कारका लागि लक्की–ड्र को समेत व्यवस्था गरेर महोत्सवलाई थप आकर्षक बनाइएको छ ।