झापा । जिल्ला प्रशासन कार्यालय झापाले गत फागुन ५ गतेदेखि सञ्चालन भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको अनुगमन गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालयअन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहालसहितको टोलीले मेलास्थलको अनुगमन गरेको हो । अनुगमनपछि महोत्सवले व्यापारी–व्यवसायी र उद्योगीमा आशा जागृत गरेको दाहालले बताए । विगतको तुलनामा उपस्थिति कमजस्तो देखिए पनि कोरोनाले थलिएको बजार क्रमिकरुपमा उठ्दैछ भन्ने सन्देश दिएको दाहालको भनाइ थियो ।

 

नेपालसहित विश्व नै आर्थिक चपेटाबाट गुज्रिरहेको अवस्थामा व्यापारीहरुलाई प्रोत्साहन गर्नका लागि मेला आयोजना गर्ने आँट गर्नु नै ठूलो कुरा भएको बताउँदै व्यापारी–व्यवसायीलाई पनि क्रमिकरुपमा व्यवसायले पिकअप लिने उनले धारणा राखे ।

 

कृषि औजारदेखि उत्पादन, कपडा, खाद्य परिकारलगायत विभिन्न किसिमका व्यापारको स्टल राखिएको महोत्सवस्थलमा दैनिक झापामा बसोबास गर्ने आदिवासी÷जनजाति समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुँदै आएको महोत्सवका आयोजक संस्थाका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

 

आर्थिक मन्दी, बैंकको ताकेतालगायतका कारणले निराश भएका व्यवसायीलाई महोत्सवले उत्साहित बनाएको मेला आयोजक समितिका संयोजक राजु न्यौपानेको भनाइ छ । महोत्सवले ब्यापारी व्यवसायीमा उत्साह थपेको महोत्सव संयोजन समितिका सचिव कुशल खतिवडाले बताउँछन् ।