झापा । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले अवैधरुपमा भन्सार छलेर नेपाल भित्र्याइएको करिब ११ लाख मूल्यबराबरको विभिन्न सामान मेचीनगरबाट बरामद गरेको छ ।

 

आज (बिहीबार) बिहान करिब ८ः३० बजे मेचीनगर ६ स्थित काली खोला छेउमा पूर्वबाट पश्चिम आउँदै गरेको डब्ल्यू बी ७३ ए ४२६६ नम्बरको भारतीय ट्रकलाई नियन्त्रणमा लिँदा विभिन्न ब्राण्डका मोबाइल, टायल, औषधि र कपडा प्रहरीले बरामद गरेको हो ।

 

एक दिनको भन्सार काटेर नेपाल भित्रिएको उक्त ट्रकलाई शंका लागी चेकजाँच गर्ने क्रममा ट्रकको क्याबिन, छत र विभिन्न ठाउँमा लुकाएर ल्याइएको ३५ थान मोबाइल, टायल २४ कार्टुन, २ कार्टुन औषधि र राधे राधे लेखिएको गम्छा कपडा ३ हजार ७८० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रहरीका अनुसार अन्दाजी १० लाख ९० हजार १७० रुपैयाँको सामान र अन्दाजी १२ लाख मूल्यबराबरको ट्रकसमेत मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

 

बरामद भएको ट्रकसँगै चालक भारतको जल्पाईगुडी बुलेट पञ्चायत थाना कर्तली बस्ने ३८ वर्षीय निरन्जन राय समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरी प्रवक्ता प्रनाउ खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।