बिर्तामोड । झापा मेचीनगर ६ को काँकरभिट्टास्थित एनआईसी एशिया बैंकको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको छ । सोमबार राति २ बजे मेचीनगर ६ स्थित राधिका क्षेत्रीको घरमा सञ्चालित बैंकको एटिएमबाट रकम लुट्ने प्रयास भएको हो ।

 

भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैंकका मेनेजर रेवन्त न्यौपानेले बताए । एटिएमको भल्ट नखुलेकाले करिब २० लाखभन्दा बढी रकम सुरक्षित रहेको न्यौपानेको भनाइ छ ।

 

अन्दाजी २०र२२ वर्षको नकावधारी एक युवाले एटिएमभित्र पसेर भल्ट फोड्ने प्रयास गरेको सिसीटिभी फुटेजमा देखिएको जानकारी मेनेजर न्यौपानेले दिएका छन् ।

 

उनले भने, ‘‘युवकले भल्ट फोड्ने प्रयास गरे पनि नसकेपछि अन्यत्र गएको पाइएको छ । भल्ट खोल्ने प्रयास गरेको र नखुलेपछि छाडेर हिँडेको देखिएको छ ।’

 

इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले एनआईसी एशिया बैंकको एटिएम फोडेर राति पैसा निकाल्ने प्रयास गरेको पाइएको र फरार युवाको प्रहरीले खोजी गरिरहेको बताएका छन् ।