झापा । पूर्वी नाका काँकरभिट्टामा मेची भन्सारले पनि सय रुपैयाँभन्दा माथिका सामान आयातमा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम लागू गरेपछि पूर्वी नाका आज दिनभर तनावग्रस्त बन्यो ।

 

सरकारले साउन १ गतेदेखि देशभरका सीमावर्ती नाकामा कडाइ गर्दै सय रुपैयाँमाथिको सामान खरिद गरी आयात गर्दा भन्सार महसुल अनिवार्य तिर्नुपर्ने नियम लागू गरेको थियो ।

 

देशका अन्य नाकामा भन्दा ढिलो नियम लागू भएको यो व्यस्त नाका मंगलबार तनावग्रस्त बन्यो । स्थानीय साना व्यवसायीहरुले मंगलबार दिउँसो विरोध गर्दा नाका तनावग्रस्त बनेको हो । जसकारण सवारी आवागमन पनि ठप्प भएको थियो । यातायात खुलाउन नाका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रह्यो । साना व्यवसायीहरुले सडकमा नाराबाजी गरिरहे ।

 

स्थानीयहरुले भने भारतबाट रासन पानी किनमेल गरेर आउँदा महसुल तिर्न लगाइनु व्यावहारिक नभएको भन्दै आक्रोश पोखे । एक स्थानीयले भने, ‘ठूला तस्करलाई रोके भइगयो नि सर्वसाधारणहरुलाई किन अनावश्यक सास्ती दिनु ?’

 

मेचीनगर नगरपालिका, मेची भन्सार, मेची उद्योग वाणिज्य संघ तथा विभिन्न राजनीतिक दलका सांसद तथा नेताहरुले साउन ५ गते सर्वदलीय र सर्वपक्षीय निर्णय गरी सय रुपैयाँभन्दा माथिका सामान भारतबाट खरिद गरी ल्याउँदा अनिवार्य रुपमा भन्सार महसुल तिर्नुपर्ने निर्णय गरेका थिए ।

 

मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले सय रुपैयाँमाथिको सामान खरिद गरी ल्याउनेलाई अनिवार्य महसुल तिराउने नियमपछि मेची भन्सारमा साना तथा ठूला व्यवसायी र स्थानीयको भीड बढेको बताउँछन् । इकान्तिपुरबाट