झापा । आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै भद्रपुर नगरपालिकाले बजार अनुगमनलाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष ०८०/०८१ को सुरुदेखि नै नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ ।
नगरउपप्रमुख तथा अनुगमन समिति संयोजक राधा कार्कीको नेतृत्वमा सरोकारवाला सरकारी निकायका प्रतिनिधिसमेतको टोलीले तीन दिनसम्म गरेको बजार अनुगमनका क्रममा उल्लेख्य मात्रामा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरेको नगरपालिकाको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए ।
अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका नारायणप्रसाद भट्टराई, गुणस्तर तथा नापतौल कार्यालय झापाका विजयनन्द चौधरी, कासिन राजवंशी, झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्कबहादुर लिम्बू, नगरपालिकाको कानून शाखा प्रमुख राजेन्द्रप्रसाद ढकाल, सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । समय मिलाएर नगरप्रमुख गणेश पोखरेल पनि अनुगमनमा सहभागी भएका थिए ।
टोलीले बुधबार र बिहीबार वडा नं १ र २ को हिमाली, सोमबारे, सीताचोक, चारआली, सगरमाथा चोकका खाद्य तथा कस्मेटिक पसल, होलटहरुमा अनुगमन गरेको थियो भने शुक्रबार भद्रपुर ५ र ६ का पसलहरुमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा टोलीले अधिकांश पसलमा म्याद गुज्रिएका विभिन्न किसिमका खाद्य सामग्री, तेल र अखाद्य मिसावट गरिएका चुक अमिलो, भुटेको केराउ, दाललगायतका सामग्री फेला पारेको र ती सामान जफत गरेको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रतिनिधि भट्टराईले जानकारी दिए ।
सोक्रममा केही पसलले नगरपालिकाको इजाजत नलिएको, केहीले नविकरण नगरेको, ढक–तराजु (डिजिटल काँटा) इजाजत निलिई प्रयोग गर्ने गरेको पाइएकोले तिनीहरुलाई समय दिएर इजाजत लिन र नविकरण गर्न निर्देशन दिइएको नगरपालिकाको कानून शाखा प्रमुख ढकालले जानकारी दिए ।
जफत गरिएको सामग्री अनुगमनमा सहभागीहरुको रोहबरमा मेची किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको अनुगमन टोली संयोजक उपप्रमुख कार्कीले जानकारी दिइन् ।
उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीको सन्दर्भमा बजारमा धेरै कैफियत देखिएकोले अनुगमनलाई अझ तिव्रताका साथ अघि बढाइने र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यवसायीमाथि कारवाही प्रक्रिया अवलम्बन गरिने पनि उपप्रमुख कार्कीले बताइन् ।