इलाम । जिल्लाका विभिन्न डेरीमा उत्पादित नौनी घिउ र चीज बिक्री नहुँदा अहिले डेरी व्यवसायीहरू समस्यामा परेका छन् । गत वैशाख यता नौनी घिउको उपभोक्ताबाट माग नै नआउँदा उत्पादित घिउ त्यसै थन्क्याउनुपरेको व्यवसायीहरूले बताएका छन् ।

 

जिल्लामा अहिले डेढ सयभन्दा बढी डेरी उद्योगहरू सञ्चालनमा छन् । सबै डेरीहरूले किसानबाट दुध सङ्कलन गरी घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका छन् । प्रायः डेरीमा कम्तीमा पनि दुईदेखि तीन हजार किलो नौनी घिउ ‘स्टक’ रहेको सूर्योदय नगरपालिकास्थित दुग्ध व्यवसायी सङ्घले जनाएको छ ।

 

सङ्घका अध्यक्ष जगत् महतले वैशाख महिना यता घिउ र चीज बिक्री हुन नसकेको बताए । ‘अहिले हामीले घिउ र चीज बिक्री गर्न पाएका छैनौँ । उत्पादित वस्तुलाई राख्ने कोल्ड स्टोर नहुँदा अर्को समस्या झेल्नुपरेको छ’, अध्यक्ष महतले भने, ‘नौनी घिउ धेरैमा चार महिनामात्र राख्न सकिन्छ । त्यस अवधिमा पनि बिक्री भएन भने नष्ट हुने अवस्था रहन्छ ।’

 

करिब दशकयता दुग्ध परिकारहरूको व्यवसाय गर्दै आएका इलाम नगरपालिकास्थित सेतो पहाड डेरीका सञ्चालक मिलन खत्री पनि आफ्नो डेरीमा करिब चार हजार किलो घिउ स्टक रहेको बताउँछन् । उपभोक्ताबाट माग नआएको उनको भनाइ छ । ‘पहिलो कारण पशुहरूमा देखिएको लम्पी स्किन रहेको उनले अनुमान गरेका छन् ।

 

अर्को कारण सरकारले दूधको मूल्य वृद्धि गरेपछि पनि घिउको मूल्य बढेका कारण र चाडपर्वहरू कम भएका कारण पनि उपभोक्ताबाट माग नआएको हुनसक्ने उनले बताए । खत्रीले ‘विदेश निर्यात हुने छुर्पीकै पनि माग घटेको सुनाए । विदेश अर्थात् भारत, जर्मन, अमेरिका तिरै पनि डगच्युको रूपमा छुर्पी उत्पादन हुन थालेको छ ।

 

व्यवसायीहरूले घिउ प्रतिकिलो ७५० रुपियाँदेखि ८५० रुपियाँ प्रतिकिलोसम्म बिक्री गरिरहेका छन् । सरकारले दुधको मूल्य वृद्धि गर्नअघि अर्थात् गएको फागुन महिनासम्म बढीमा प्रतिकिलो ६५० रुपियाँ सम्ममात्र घिउ बिक्री हुनेगरेको थियो । दुधको मूल्य बढेसँगै व्यवसायीले प्रतिकिलो डेढदेखि दुईसय रुपियाँ मूल्य वृद्धि गरेर बिक्री गरिरहेका छन् ।

 

पशुहरूमा देखिएको रोगका कारण पनि उपभोक्ताले घिउ नरुचाएको हुनसक्ने इलाम नगरपालिकास्थित पशुस्वास्थ्य शाखाका प्रमुख रूपबहादुर लिम्बूको भनाइ छ ।

 

‘लम्पीका कारण दूध पनि राम्रोसँग उमालेर खान हुन्छ । अहिले त इलाममा लम्पी कम हुँदै गएको छ’, लिम्बूले भने, ‘समयमै भ्याक्सिन दिएकाले धेरै पशुलाई जोगाउन सकियो ।’ गोरखापत्रबाट