बिर्तामोड । भारतबाट भन्सार छलेर अवैधरूपमा भित्र्याइएका मोबाइल सेटसहित प्रहरीले झापाको बिर्तामोडबाट एकजना व्यवसायीलाई बुधबार पक्राउ गरेको छ ।
बिर्तामोडमा व्यवसाय गरिरहेका मोवाइल डिलरहरुको सहयोगमा प्रहरीले व्यवसायी शंकर वंशललाई नियन्त्रणमा लिएको हो । व्यवसायी वंशलले हनुमान सेन्ट्रलको माथिल्लो तलामा सञ्चालन गर्दै आएको श्री श्याम मोबाइल एसोसिरिजमा अवैधरुपमा भित्राइएका मोबाइल कारोबार भइरहेको सूचना डिलर व्यवसायीहरुले प्राप्त गरेका थिए ।
प्राप्त सूचनाका आधारमा गरिएको निगरानीका क्रममा वंशलले भारतबाट अवैधरूपमा भित्र्याएर मोबाइल सेटको कारोबार गरिरहेको खुलेको थियो । डिलरहरुको सूचनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले वंशलको पसलमा छापा मार्दा अवैध रूपमा भित्र्याइएका ३० ओटा मोबाइल सेट फेला परेका छन् ।
ती सेटसहित वंशललाई प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको छ । उनलाई इटहरीस्थित राजस्व अनुसन्धान विभागको कार्यालयमा बुझाइने जनाइएको छ ।