इलाम । इलाम नगरपालिका वडा नम्बर ४ का एक किसानले आफ्नो बारीमा रोपेको फूलकोपी नफुली तरुल लागेपछि चिन्तित बनेका छन् ।

 

स्थानीय भोजबहादुर कार्कीले बारीमा एक हजारभन्दा बढी फूलकोपीको बिरुवा लगाएका थिए । फूलकोपी फूलाएर तरकारीका लागि बजारमा लैजाने तयारी गरेका कार्कीले कोपी नफुलेपछि उखेलेर हेर्दा जरा तरुलजस्तै ठुलो भएको पाइएको बताए ।

 

कार्कीले फूलकोपीको ठाउँमा तरुलजस्तो फलेपछि वडा कार्यालय र नगरपालिकामासम्म गुनासो राखेको सुनाए । अनुसन्धानका लागि पठाइए पनि अहिलेसम्म कुनै जानकारी नपाएको उनको गुनासो छ ।

 

यसैबीच, ४ नम्बर वडाध्यक्ष नूतनदेव दुलालले कोपी नफुलेर जरा तरुलजस्तो भएपछि समस्या पत्ता लगाउन कृषि ज्ञान केन्द्र, कृषि शाखा पुर्याएको बताउँछन् । तर, अहिलेसम्म केही जानकारी नआएको उनको भनाइ छ ।

 

पछिल्लो समय माटोको पोषकतत्वका कारण पनि यस्तो हुने कृषि प्राविधिकहरूले बताउने गरेको दुलालको भनाई छ । उनले अध्ययन अनुसन्धानको रिपोर्ट आइनसकेको पनि सुनाए ।

 

तर, कृषि ज्ञान केन्द्रका प्रमुख टोनी वर्देवा यस समस्याबारे अहिलेसम्म अध्ययनका लागि कार्यालयमा कुनै जानकारी नभएको अनभिज्ञता जनाउँछन् । बिरुवाले फल दिनुको सट्टा जरामा गाठागुँठी आउनु माटोको अम्लीयपनको कारण हुने उनले बताए ।

 

‘त्यहाँको माटो परीक्षण गरेपछि मात्रै के हो ? भन्ने आधिकारिक हुन्छ’, उनले भने, ‘यसको लक्षण सुन्दा अम्लीयपनको कारण यस्तो समस्या देखापर्छ ।’