ताप्लेजुङ । ताप्लेजुङमा एकैवर्षमा ५५ हजार मेट्रिकटन बढी आलु उत्पादन भएको छ। गएको वर्ष जिल्लाका किसानले लगाएको आलु खेतीबाट कुल ५५ हजार २७९ मेट्रिकटन उत्पादन भएको हो।

 

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मात्र जिल्लाका किसानले उक्त परिमाण बराबर आलु उत्पादन गरेका हुन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष यहाँ आलु उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विनय महर्जनले जानकारी दिए ।

 

महर्जनकाअनुसार आव २०७८/७९ मा ५५ हजार १७६ मेट्रिक टन आलु उत्पादन भएको थियो। उक्त परिमाणको आलु उत्पादनका लागि चार हजार २७० हेक्टर क्षेत्रफलमा किसाले खेती लगाएका थिए। अघिल्लो आवमा भने छ हेक्टर कम अर्थात् चार हजार २६४ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

 

केन्द्रका अनुसार गत वर्ष आलुको उत्पादकत्व प्रतिहेक्टर १२.९५ मेट्रिक टन रहेको छ। जिल्लामा उत्पादन हुने आलु अधिकांश जिल्लाभित्रै खपत हुने र केही परिमाण मात्र जिल्ला बाहिर निर्यात किसानले बताएका छन्।

 

यता जिल्लामा स्थानीय आलुको औसत मूल्य प्रतिकिलोग्राम ४५ रुपियाँ रहेको हुँदा उक्त मूल्यअनुसार अढाई अर्ब रुपियाँ बराबरको उत्पादन भएको पाइएको छ।

 

स्थानीय (लोकल) प्रजातिको आलुको माग र मूल्य राम्रो भएकाले आलु उत्पादन गरेर किसानले मनग्य आम्दानी गर्ने गरेका कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापा मगरको भनाइ छ। गोरखापत्रबाट