इलाम । करिब ४० वर्षयता बन्द भएको भारतीय रुपियाँ सटहीको काम पुनः सुरु भएपछि इलामको पशुपतिनगर क्षेत्रका स्थानीय खुशी भएका छन् । यसअघि भारतीय रुपियाँ साटेर नेपाली रुपियाँ बनाउन नपाउँदा पूर्वी सीमावर्ती क्षेत्रका नागरिकले समस्या झेल्दै आएका थिए ।

 

भारतीय रुपियाँको कारोबार बढेपछि त्यसलाई साटेर नेपाली रुपियाँ बनाउन नेपालीले नै थप रकम खर्च गर्नुपरेको थियो । वर्षौंदेखिको भारतीय रुपियाँ सटहीको समस्या सुल्झाउन महाप्रसाद अधिकारीले सटही काउन्टर राख्न निर्देशनसँगै राष्ट्रिय वाणिज्य बैंक पशुपतिनगरमा सटही काउन्टर सुरु भएको जनाइएको छ ।

 

अहिले नेपालीका लागि प्रतिव्यक्ति दैनिक तीन हजार रुपियाँ र भारततर्फबाट आउने पर्यटकलाई प्रतिव्यक्ति दैनिक पाँच हजार रुपियाँ सटही सुविधा दिन थालिएको पशुपतिनगरस्थित राष्ट्रिय वाणिज्य बैंका प्रमुख राजन चौंलागाईले बताए ।

 

सटही काउन्टरमा भारु एक सय रुपियाँका नोटहरु मात्र साटिने गरेको छ । चौंलागाईंका अनुसार दैनिक ५०-६० जनाभन्दा बढी व्यक्तिहरु भारतीय रकम सटहीका लागि आउने गरेका छन् ।

 

बैंकलाई नगद २५ हजार रुपियाँसम्म सटही गर्न पाउने अधिकार भए पनि हालका लागि बजारको अवस्था हेरेर मात्र सटही गर्न थालिएको चौंलागाईंले बताए ।

 

इलामको पूर्वी सीमावर्ती क्षेत्रमा उत्पादित कृषिउपज र दुग्धजन्य पदार्थ बढी मात्रामा भारत निकासी हुनेगरेकाले त्यस क्षेत्रका सर्वसाधारणले भारतीय रुपियाँ नै लिनुपर्ने बाध्यता रहंदैआएको छ । गोरखापत्र अनलाइनबाट