अन्तु डाँडामा सूर्योदयको दृश्यावलोकनका लागि बिहीबार विहान पुगेका पर्यटकहरु । तस्बिर : कोकिला ढकाल

इलाम । कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो ।

 

सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तु डाँडामा अहिले आगामी सात दिनसम्मका लागि होटल, कटेज र होमस्टेहरु बुकिङ भइसकेका छन् । दैनिक करिब दुई हजार जना आन्तरिक तथा बाह्य पर्यटक अन्तु आउन थालेको पर्यटन व्यवसायी संघ अन्तुका अध्यक्ष रुद्र घिमिरेले बताए ।

 

‘नेपालका विभिन्न स्थानका पर्यटकसँगै भारतको गुहाटी, आसाम, सिलिगुढीलगायतका स्थानबाट आगामी सात दिनसम्मका लागि होटल, कटेजहरु बुकिङ भइसकेका छन्’ घिमिरेले भने, ‘कोभिड अगाडिकै लयमा पर्यटकको आवागमन सुरु भएको छ ।’ धेरैजसो विद्यालय र अन्य क्षेत्रको पनि दसैं–तिहार विदा भएकाले यो बीचमा अन्तु आउने पर्यटकको संख्या उल्लेख्य छ ।

 

सूर्योदयको दृश्यावलोकनका लागि बनाइएको भ्युु-टावर, त्यहाँको पटाङ्गीनी र त्यहाँको सौन्दर्यकरणले पनि पर्यटकलाई अन्तुले तानेको छ । सूर्योदयको दृश्यावलोकनसँगै अन्तु पोखरीमा डुङ्गा सयर, चिसो मौसमले पनि यो वर्ष पर्यटकलाई बढी तानेको पर्यटन व्यवसायीको भनाइ छ ।

 

सूर्योदय नगरपालिकाको फिक्कलस्थित छिविटारबाट १४ किलोमिटर पक्की सडक पार गरेर पुग्न सकिने अन्तुमा करिब एक सयभन्दा बढी होमस्टे, होटल र कटेज सञ्चालनमा रहेका छन् । अन्तुमा दैनिक करिब १४-१५ लाख रुपियाँको कारोबार हुनेगरेको व्यवसायीको भनाइ छ । गोरखापत्रबाट