बिर्तामोड । ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूटको आयोजना तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको आयोजनामा नेपालमा चिया उद्योगको दिगोपन सुदृढका लागि सरोकारवालासँग एकदिने कार्यशाला भएको छ ।

 

कार्यक्रममा सहभागीहरुले नेपालको चिया उद्योगको दिगोपन सुदृढका लागि अग्र्यानिक चिया उत्पादनका लागि आवश्यक सबै प्रकारका समस्यामा समाधानको पहल गर्न जरुरी रहेको औँल्याए ।

 

उनीहरुले चिया उत्पादनदेखि बजारीकरणसम्म समस्या रहेको भन्दै सम्बन्धित निकायले ठोस पहल गर्न नसकिरहेको बेथितिको चर्को आलोचना गरेका थिए । उनीहरुले चिया खेतीमा सिँचाइको व्यवस्था, विज्ञबाट अनुसन्धानको अभाव, रोग, विषादिका विषयमा अज्ञानता रहेको पनि उल्लेख गरे ।

 

यसैगरी, चिया प्रशोधन परम्परागतरुपमा रहँदा गुणस्तरीय चिया उत्पादन गरी निर्यात गर्न नसकेको, जनशक्तिका लागि महिलामैत्री प्रविधि नभएको, प्रविधि विशेष तालिमको अभाव रहेको, प्रमाणीकरणमा झञ्झटिलो प्रक्रियाका बारेमा पनि सरोकारवालाले औँल्याएका थिए ।

 

उनीहरुले विशेष गरेर उचित दररेटमा उर्जाको स्रोत व्यवस्थापन, सरकारले मल बाँड्ने नभइ अग्र्यानिक मलको फ्याक्ट्री प्रदेशमा स्थापना गर्न र चिया निर्यातमा एकद्वार प्रणालीअन्तर्गत दररेट कायम गरिनुपर्नेमा जोड दिएका थिए ।

 

कोशी प्रदेश कृषि मन्त्रालयका सचिव डा. लेखराज दाहालको अध्यक्षता तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोर्डका क्षेत्रीय निर्देशक डा. इन्द्रप्रसाद अधिकारीले चियाको वर्तमान अवस्था, समस्या र सम्भावनाका विषयमा प्रस्तुति राखेका थिए ।

 

कार्यक्रममा चिया उत्पादक संघका केन्द्रीय उपाध्यक्ष आदित्य पराजुली, चिया उत्पादकहरु गोपाल दाहाल, उत्तम श्रेष्ठ, पर्वत डाँगी, उरुषा चापागाई, ज्योति अधिकारी, नविन चापागाईलगायतले आफ्ना भनाइ राखेका थिए ।

 

ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूटले नेपाल, भारत र श्रीलंकामा चिया तथा कफीका लागि बजारीकरण गर्न चिया मजदुर, उद्योगी, व्यापारीको हितमा योजना सञ्चालन गर्ने जनाएको छ ।