गणेश घिमिरे,

इलाम । तीन जना युवाले पाँच करोड रुपैयाँको लगानीमा इलाममा चिया कारखानाको स्थापना गरेका छन् । इलाम नगरपालिका–१ साँखेजुङमा इलाम र झापाका युवाले संयुक्त लगानीमा कारखानाको स्थापना गरेका हुन् ।

उनीहरुले पाँच रोपनी जमीनमा दैनिक ६ हजार किलो चिया प्रशोधन गर्ने क्षमताको कारखाना स्थापना गरेका छन् । सो कारखानामा अहिले दैनिक तीन सय किलो हरियो पत्ती आउन थालेको कारखाना सञ्चालक मध्येका एक गौरव तिमल्सिनाले बताउनुभयो ।

इलामका विपिन बस्नेत, सुजन ढुंगेल र झापाका गौरव तिमल्सिनाले संयुक्त लगानीमा ग्रिन भ्याली टि प्रालि नामक कारखाना स्थापना गर्नुभएको हो । कारखानाबाट अर्थोडक्स चिया मात्र उत्पादन हुँदैछ । आगामी दिनमा ग्रिन टि, ह्वाइट टि पनि उत्पादन गर्ने लक्ष्य लिएको प्रालिका अध्यक्ष एवम् सञ्चालक विपिन बस्नेतले बताउनुभयो ।

कारखानामा अहिले आफ्नै बगानको करिब पाँच सय रोपनी जमीनमा लगाएको चिया आउनेछ भने बाँकी स्थानीय कृषकसँगै देउमाई नगरपालिकाका मंगलबारे, जितपुर, शान्तिडाँडाका कृषकबाट चिया खरिद गर्ने योजना रहेको बताइएको छ ।

कारखानामा अहिले अर्गानिक र नन अर्गानिक दुवै किसिमको हरियो पत्ती लिँदै आएको जनाइएको छ । यहाँ उत्पादित चिया भारतको कोलकात्ता तथा पाकिस्तान, टर्की, इरानसम्म निकासी गरिने सञ्चालक बस्नेतले बताउनुभयो । साना घरेलु चिया कारखाना धेरै रहेको साँखेजुङमा ग्रिन भ्याली टि प्रालि स्थापना भएपछि ठूला चिया कारखानाको संख्या तीन वटा पुगेको छ ।

भर्खरै मात्र स्थापना गरेर प्रशोधन थालेको ग्रिन भ्याली चिया कारखानामा हाल २१ जनाले रोजगारीको अवसर पाएका छन् । कारखानाले किसानसँग अहिले प्रतिकिलो ५५ रुपैयाँका दरले हरियो पत्ती खरिद गर्दै आएको छ । कारखानामा काम गर्ने र बगानमा काम गर्ने मजदुरका लागि कारखानाले सरकारले तोके अनुसारको ज्याला दिने प्रतिबद्धतासमेत जनाएको छ । हरियो पत्तीको मूल्यमा त्यस भेगमा रहेका कारखानासंगको छलफल र सहमतिबाटै निर्धारण गर्ने जनाएको छ ।

सञ्चालक तिमल्सिनाले करोडौं रुपैयाँ लगानी गरेर कारखाना स्थापना गरे पनि चियाको गुणस्तर, बजार व्यवस्थापनलगायतका क्षेत्रको पनि निश्चितता नहुँदा समस्या भइरहेको बताउनुभयो । सरकारले निजी चिया उद्योगीका लागि पनि सहयोग गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

पछिल्लो समय साँखेजुङ क्षेत्रका कृषकले चिया खेती घटाएको कारखाना सञ्चालकले बताए । अब कारखानाले किसानलाई चिया खेतीतर्फ पुनः आकर्षित गर्न कारखानाले चिया कृषकका लागि नयाँ स्किमहरु ल्याउने योजनासमेत बनाएको जनाएका छन् । साँखेजुङमा यो कारखाना स्थापना भएसंँगै जिल्लामा साना ठूला गरी चिया कारखानाको संख्या २५ वटा पुगेको छ । जसमा सबैभन्दा बढी सूर्योदय नगरपालिकामा स्थापना भएका छन् ।