झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरूले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् ।

 

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर शुक्रबार भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरू पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिए ।

 

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए । भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताए ।

 

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिएका छन् ।

 

चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीय स्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग-अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो ।