मोरङ । रतुवामाई नगरपालिका ६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतीय नागरिकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

लागुऔषध खैरो हेरोइन (ब्राउनसुगर)को ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले ब्राउनुसुगरको कारोबारीलाई पक्राउ गरेको हो ।

 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ब्राउनसुगर कारोबारी भारतीय नागरिक ३४ वर्षीय भगिरथ हरिजनलाई आज दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका ६ स्थित कादुपाडाबाट नियन्त्रणमा लिएको हो ।

 

बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारीसमेत सामान्य घाइते भएकोले प्रहरीले प्रतिकार स्वरुप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको जनाइएको छ ।

 

उनको साथबाट प्रहरीले १४९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निगरानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।