भोजपुर । पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।
खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ ।
अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका ५ का कृषक फविन्द्र प्रधानले मिहेनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए । अहिले प्रतिकेजी २५० देखि तीन सयका दरले बिक्री हुँदै आएको उनको भनाय छ ।
खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राईले व्यावसायिक खेती गरेका छन् । दश वर्षभन्दा बढी रोजगारीमा बिताएका उनी पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन् ।
जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भूभागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ । एनटिभीबाट