झापा । झापा ११ को आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भइरहेको झापा कप फुटबल प्रतियोगिताको उपाधिलाई सोमबार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) भिड्दै छन् ।
ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौं स्थानको एनआरटीबीचको यो भेट इलाम गोल्डकपपछिको दोस्रो हो । इलाम गोल्डकपको फाइनलमा एनआरटीले चर्च ब्वाइजलाई ३-० ले हराएको थियो । त्यो जित दोहोर्याउने दाउमा एनआरटी देखिन्छ ।
चर्च ब्वाइज भने इलामको हारको चोट बिर्सने योजनामा छ । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘इलाममा बेहोरेको हारको बदला लिन्छौं ।’ एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्नो टिम सन्तुलित र बलियो रहेको बताउँदै जित निश्चित रहेको जनाए ।
गतवर्ष फागुनमा सम्पन्न छैटौं झापा गोल्डकपमा चर्च ब्वाइजले बाईमा रहेको एनआरटीलाई पहिलो चरणमै रोकेको थियो । सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज हाबी देखिएको थियो । लिगको छैटौं चरणमा चर्च ब्वाइज र एनआरटीबीचको खेल २-२ गोलको बराबरीमा टुंगिएको थियो ।
पछि चर्च ब्वाइजले एनआरटीलाई ४-१ गोल अन्तरले हराएको थियो । चर्च ब्वाइजमा लिगताकाका खेलाडी अनन्त तामाङ मात्र रहेका छन् भने त्यो बेलाका गोलकर्ता अञ्जन विष्ट हाल एनआरटीमा आबद्ध छन् ।
चर्च ब्वाइज ‘बी’ डिभिजन जितेर ‘ए’ डिभिजन च्याम्पियन बनेको ललितपुरे टोली हो भने ९१ वर्षको इतिहास बोकेको एनआरटीले पाँचपटक शीर्ष लिग जितेको छ ।
झापा कपका विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख पाउनेछन् । प्रतियोगितामा उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीले जनही ३५ हजार नगद पुरस्कार पाउनेछन् ।