पाँचथर । फाल्गुनन्द गोल्डकपको ११औँ संस्करण सकिएको एक महिना नबित्दै फेरि पाँचथरमा भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । फिदिम भेट्रान्स क्लबको आयोजनामा माघ ९ गतेदेखि १२ गतेसम्म दोस्रो भेट्रान्स कप हुने भएको हो ।

 

फिदिम माविको मैदानमा हुने प्रतियोगितामा भारतको एक टोलीसहित ८ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

 

प्रतियोगितामा आयोजकसँगै युनाइटेड फ्रेन्डस क्लब बुङकुलुङ दार्जिलिङ, धरान भेट्रान्स सुनसरी, दूधे भेट्रान्स झापा, रेड स्टार भेट्रान्स झापा, गोरख भेट्रान्स इलाम, बौद्ध भेट्रान्स रानीटार पाँचथर र मोरङ भेट्रान्स एफसीको सहभागिता रहने राेशन श्रेष्ठले जानकारी दिए ।

 

प्रतियोगिताको आयोजनाका लागि २० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

व्यक्तिगत विधाको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ। पहिलो संस्करणको फिदिम भेट्रान्स कप फुटबलको उपाधि इलाम भेट्रान्सले जितेको थियो ।