काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथि लगाएको निलम्बन तथा प्रशासनिक र आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ ।

 

राखेपको कार्यकारी समितिले एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध आज फुकुवा गरेको हो । राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई पत्र पठाउँदै यसबार जानकारी गराएका छन् ।

 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ (३) बमोजिम निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको पत्रमा उल्लेख छ । राखेपले यस निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सम्बन्धित मन्त्रीको सचिवालय तथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) लाई समेत गराएको छ ।

 

यसअघि पटक-पटक दिएको निर्देशन पालना नगरेको भन्दै गएको चैत ११ गते राखेपले एन्फालाई निलम्बन गरेको थियो । यसपछि एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले असार ११ गते एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो । एन्फामाथि फिफाको प्रतिबन्ध यथावत् छ ।