शनिश्चरे । झापाको अर्जुनधारामा बिहीबारदेखि सुरु आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिता जुनकिरी आवि र लक्ष्मी मावि विजयी भएका छन् ।

 

नगरभित्र रहेका १० वटा माविका कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीबीच फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अर्जुनधारा ६ को बालकल्याण आविलाई ५-० गोलले अर्जुनधारा ११ को जुनकिरी आविले पराजित गरेको हो ।

 

यसैगरी, दोस्रो खेलमा अर्जुनधारा ६ को लक्ष्मी माविले अर्जुनधारा ५ को श्री आधारभूत विद्यालयलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

 

विद्यार्थीहरुलाई फुटबल खेलप्रति हौसला प्रदान गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यले महारानीगञ्ज माविको बाल क्लबको आयोजनामा समाजसेवी भक्तबहादुर डाँगीले स्व. बुवा कृष्णप्रसाद डाँगीको स्मृतिमा फुटबल खेल सञ्चालन गरेका हुन् ।

 

माघ २५ गते हुने फाइनल खेलको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार पाउने छन् । यसैगरी विभिन्न विधामा पनि पुरस्कारको व्यवस्था गरिएको विद्यालयका शिक्षक प्रदिपकुमार बस्नेतले जानकारी दिए । प्रतियोगिता विद्यालयको ६७औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।