शनिश्चरे । झापाको अर्जुनधारामा जारी आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगितामा जुनकिरी आवि सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा भएको क्वाटरफाइनल खेलमा भानु आविलाई ३-१ गोलले पराजित गरी जुनकिरीले अन्तिम चारमा स्थान बनाएको हो ।

 

यसअघि भएको प्रिक्वाटर फाइनल खेलमा भानु आविले आयोजक महारानीगञ्ज माविलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

 

सेमिफाइनल प्रवेश गरेको जुनकिरी आविका रोशन हास्दा प्लेयर अफ दी म्याच बनेर नगद पुरस्कार पाउन सफल भए । उनलाई महारानीगञ्ज टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र खड्काले पुरस्कृत गरे ।

 

नगरभित्र रहेका १० वटा माविका कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीबीच फुटबल प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई फुटबल खेलप्रति हौसला प्रदान गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यले महारानीगञ्ज माविको बाल क्लबको आयोजनामा समाजसेवी भक्तबहादुर डाँगीले स्व। बुवा कृष्णप्रसाद डाँगीको स्मृतिमा फुटबल खेल सञ्चालन गरेका हुन् ।

 

माघ २५ गते हुने फाइनल खेलको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार पाउने छन् । यसैगरी विभिन्न विधामा पनि पुरस्कारको व्यवस्था गरिएको विद्यालयका शिक्षक प्रदिपकुमार बस्नेतले जानकारी दिए । प्रतियोगिता विद्यालयको ६७औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।