शनिश्चरे । झापाको अर्जुनधारामा जारी आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आज भएको अन्तिम सेमिफाइनल खेलबाट जनता मावि खुदुनाबारी फाइनलमा प्रवेश गरेको छ ।
अर्जुनधारा ११ स्थित महारानीगञ्ज माविको खेलमैदानमा भएको खेलमा अर्जुनधारा १ को सिंहदेवी माविलाई सडनडेथमा पराजित गर्दै जनता मावि फाइनलमा प्रवेश गरेको हो । सडनडेथमा जनता मावि ६-५ गाेलले विजयी भएकाे हाे । निर्धारित समय १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
नगरभित्र रहेका १० वटा माविका कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीबीच अर्जुनधारा ११ को महारानीगञ्ज माविले फुटबल प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई फुटबल खेलप्रति हौसला प्रदान गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यले महारानीगञ्जको बाल क्लबले प्रतियोगिता आयोजना गरेको हो ।
स्थानीय समाजसेवी भक्तबहादुर डाँगीले स्व बुवा कृष्णप्रसाद डाँगीको स्मृतिमा फुटबल खेल सञ्चालन गरेका हुन् । माघ २५ गते हुने फाइनल खेलको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार पाउने छन् ।
यसैगरी विभिन्न विधामा पनि पुरस्कारको व्यवस्था गरिएको विद्यालयका शिक्षक प्रदिपकुमार बस्नेतले जानकारी दिए । प्रतियोगिता विद्यालयको ६७औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।