बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

 

स्थानीय डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४-३ गोलले पराजित गर्दै कन्काई फाइनल पुगेको हो ।

 

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २-२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो ।

 

कन्काइका लागि एलेक्स चाैधरी, वर्षा मगर, शुशिला चाैधरी र छत्रिका चाैधरीकाे प्रहार गाेलमा परिणत भएकाे थियाे भने पूर्णिमा राई र सुक्रिया मियाकाे प्रहार खेर गएकाे थियाे । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, राेजिना राई, भावना परियारकाे प्रहार गाेलमा परिणत हुँदा वर्षा ओली, करूणा बुढाथाेकी र बबिता कार्कीकाे प्रहार खेर गएकाे थियाे ।

 

खेलको प्लेयर अफ दी म्याच कन्काइकी शुशिला चौधरी घोषितहुँदै नगद ५ हजार पाउन सफल भइन् । भोलि (शनिबार) अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।

 

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।