विराटनगर। प्रथम कोशी खेलकुद महोत्सवअन्तर्गत भइरहेको बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दाहाल, प्रकाशचन्द्र नेपाल र धिरेन राईले समान ४ दशमलव ४ अंक जोडेर संयुक्त अग्रता लिएका छन्।

 

बिहीबार भएको पाँच चरणको खेलपछि झापाका २०२१ रेटेड शुश्रुतले टाइब्रेकर १७.५ प्वाइन्ट आधारमा शीर्ष स्थान कब्जा गर्न सफल रहे। प्रतिस्पर्धामा झापाका परिचित १९३२ रेटेड खेलाडी प्रकाशचन्द्र नेपाल १६ टाइब्रेकर बुकोल्ज्स् प्वाइन्टका आधारमा दोश्रो र खोटाङका १८८७ रेटेड धिरेन राई १६ प्वाइन्ट बोकेर तेस्रो स्थानमा रहन सफल भएका छन्।

 

विराटनगरस्थित मारवाडी सेवा सदनको सभाकक्षमा सञ्चालित कडा स्पर्धामा नौ जना राष्ट्रिय खेलाडीले समान ४-४ अंक जोडेर टक्कर दिइरहेका छन्। जसमा सुनसरीका १८३७ रेटेड हिमाल राई, अनरेटेड खेलाडी इमेश नेपाल, झापाका १९८२ रेटेड राजन सुवेदी रहेका छन् ।

 

यसैगरी, सुनसरीका १९१५ रेटेड प्रज्वल घिमिरे, १८८० रेटेड राजेन्द्र राई, अनरेटेड आयान श्रेष्ठ, पाँचथरका १९२२ रेटेड रिसोन थापा, मोरङका १८८२ रेटेड तिर्थराज सुब्बा र झापाका १८११ रेटेड मिशन दहालले शीर्ष खेलाडीलाई पछ्याउँदै अगाडि बढिरहेका छन्।

 

झापा जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको बुद्धिचाल खेलमा ३ दशमलव ५ अंक बनाएर पाँच जना खेलाडीले उपाधिको सम्भावना जगाइरहेका छन्। जसमा इलामका १७७६ रेटेड सुरेन्द्रकुमार राई, सुनसरीका १८९६ रेटेड बिष्णु लिम्बू, मोरङका १८६५ रेटेड लोक सागर साम्बा, सुनसरीका १८२८ रेटेड चुडामणि कुलुङ राई र झापाका १७६६ रेटेड बसन्त लामा रहेका छन्।

 

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा प्रत्यक्ष प्रसारित खेलमार्फत प्रदेशका ८२ जना खेलाडीमध्ये दोस्रो दिन २० जना खेलाडीले समान ३-३ अंक जोडेका छन्।

 

प्रतियोगिता संयोजक धरमबहादुर लामाका अनुसार प्रदेश च्याम्पियन बन्ने खेलाडीले नगद ५० हजार, दोश्रो हुनेले २५ हजार र तेस्रो हुने खेलाडीले १५ हजार पाउने छ । यस्तै, चौथोले १० हजार र बाँकी दशौं स्थानमा रहनेले समान जनही ५-५ हजार पाउने छन्।