झापा । अर्जुनधारा नगरपालिका क्षेत्रमा भैँसी पाल्ने किसानहरु घट्दै गएपछि उनीहरुको संरक्षण र सम्वद्र्धन गर्नका लागि नगरपालिकाले आर्थिक अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको छ ।

 

भैँसीपालनबाट राम्रो आम्दानी लिन सकिने भए पनि गाई पाल्ने किसानसरह भैँसी पाल्ने किसानको संख्या घट्दै गएपछि नगरपालिकाले आर्थिक अनुदान दिने निर्णयसँगै प्रक्रिया अघि बढाइएको छ ।

 

भैँसी पाल्न इच्छुक किसानको पहिचान गरी पशुपंक्षी तथा मत्स्य विकास शाखाले आज भैँसीपालन तथा सम्बद्र्धन तालिम प्रदान गरेको छ । अर्जुनधारा २, ९, १० र ११ नम्बर वडाका ४५ जना किसानलाई अनुदान दिइने नगरको आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरियाले जानकारी दिइन् ।

 

उनका अनुसार किसानको मागअनुरुप भैँसीपालनलाई समेट्दै किसानको आर्थिक समृद्धिका लागि प्रदेश सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत् प्रोत्साहनस्वरुप जनही ५० हजार रुपैयाँ अनुदान दिइने भएको छ ।

 

शाखाका प्रमुख पदमलाल राईका अनुसार गाईपालनभन्दा भैँसीपालनबाट बढी लाभ लिन सकिन्छ । भैँसीपालनबाट दूध उत्पादनमात्र नभएर मासु उत्पादन गरेर किसानले आर्थिक लाभ लिनसक्ने बताउँदै उनले बजारको अभाव नभएको पनि सुनाए ।

 

किसानलाई उन्नत जातको भैँसी खरिद गरेर पाल्न आग्रह गरेका उनले गाई, बाच्छाबाच्छीभन्दा भैँसी, पाडापाडीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी लिन सकिने दाबी गरेका छन् ।

 

शाखा प्रमुख राईले अनुदान पाउनका लागि अपनाउनुपर्ने कागजी प्रक्रिया, आवश्यक कागजात, प्राविधिक जानकारीसहित नश्ल सुधार र पशु बिमासम्बन्धी किसानलाई जानकारी गराएका थिए ।

 

अर्जुनधारा क्षेत्रमा भैँसी पाल्दै आएका किसान राजेन्द्र वाग्ले र दुर्गा भट्टराईले आफ्ना अनुभव साटेको कार्यक्रममा समितिकी संयोजक चिमरिया, सदस्यहरु जानुका विक र बलबहादुर समालमगरको उपस्थिति थियो ।