झापा । भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मार्न लगाएको घटना बाहिरिएको छ।

 

राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाको संयुक्त टोलीले मेचीनगर नगरपालिका ६ स्थित तुर्केनीको दुर्गा मन्दिर नजिकैबाट अन्दाजी एक करोड मूल्यबराबरको लत्ताकपडा तथा मोर्टर पार्टस् बरामद गरेको हो।

 

सशस्त्र प्रहरी र नेपाल प्रहरीको पूर्वी सीमास्थित विभिन्न नाकामा रहेको चेकपोस्टबाट सेटिङमा तस्करीको लाइन खुलाएर भित्राइएको सो मूल्यबराबरको सामान बरामद गर्न सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाले राजश्व अनुसन्धान कार्यालय इटहरीको टोली बोलाएर दुईवटा घरमा छापामा मारेका थिए।

 

राजश्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत विदुर गौतम र गणका डीएसपी मदनकुमार रसाइलीको नेतृत्वमा खटिएका संयुक्त टोलीले मंगलबार बिहान करिब ६ बजे मेचीनगर ६ स्थित झिल्केघाम टोल निवासी मदन पोखरेल र सोही ठाउँका उत्तम ठकुरीको घरमा छापा मारेका थिए।

 

पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा गरी ५९ बोरा सामान बरामद गरिएको थियो। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइसकेको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेक्वा झापाका डीएसपी सुमन पोखरेले बताए ।

 

कारोबारी स्रोतका अनुसार सो सामान स्थानीय महिला कारोबारी नानु तामाङलगायत कारोबारीहरूको रहेको जनाइएको छ। उनले सो नाकाबाट भित्राएको सामान पोखरेल र ठकुरीको घरमा भण्डारण गरी राखेका थिए।