इलाम । इलामको रोङमा गएराति भएको आगलागीबाट एउटा घर पूर्णले जलेर नष्ट हुँदा लाखौंको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

 

गएराति १०ः४० बजे रोङ गाउँपालिका ३ स्थित चिण्डेपानी बस्ने तिलबहादुर भुजेलको टिनको छानो, काठ–टिनको बेरा भएको एकतले घरमा विद्युत सर्ट भई अचानक आगलागी भएको हो ।

 

किराना पसल रहेको घरमा भएको आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट हुनुका साथै पसलमा रहेका किराना सामानहरु, अन्नपात, १ थान चेन सो मेशिन, १ थान ग्रयान्डर मेशिन, तिलबहादुर भुजेलको नागरिकता, मोटरसाइकलको ब्लुबुक, लाइसेन्स, पसलमा रहेको नगद अन्दाजी ६ हजार तथा अन्य कागजपत्र जलेको पीडितले बताएका छन् ।

 

उक्त आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको इलाम प्रहरीले जनाएको छ । प्रहरी चौकी हर्कटेको प्रहरी टोली र स्थानीयको सहयोगमा राति ११ः३५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।