झापा । अर्जुनधारा ८ मा रहेको शनिश्चरे-अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले न्यूनतम ८ युनिट पानी खपतवापत १३० रुपैयाँ महसुल निर्धारण गरेको जनाएको छ ।

 

आफ्ना ग्राहकका लागि आगामी वैशाखदेखि लागु हुने गरी ८ हजार लिटर (८ युनिट) को महसुलमा २० रुपैयाँ घटाएको हो । यसअघि समितिले उपभोक्ताबाट ८ युनिटबराबर १५० रुपैयाँ लिँदै आएको समितिका अध्यक्ष किरण सिवाकोटीले जानकारी दिए ।

 

उनका अनुसार समितिले यसअघि धारा जडानमा लाग्दै आएको १३ हजारबाट घटाएर १० हजारमा झारेको थियो । २०७८ फागुन ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष सिवाकोटी नेतृत्वको समितिले ०७९ भदौ २८ गते धारा जडान शुल्क घटाउने निर्णय गरेको हो ।

 

यसैबीच, समितिले कार्यभार सम्हालेको ३७ महिनाको अवधिमा गरेको गतिविधिहरु मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । २०७९ असार २७ गतेबाट संस्थाको अर्जुनधारा-९ मगरचोकस्थित चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङकी नं २ सञ्चालन गर्दै कार्य शुरु गरेको समितिले गत चैत १५ गतेसम्म विभिन्न गतिविधिसँगै निर्णयहरु गरेको पत्रकार भेटघाटमा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

समितिले अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकार शहरी विकास मन्त्रालयको अनुदानबाट ११ किलोमिटर पाइपलाइन विस्तार, सडक विस्तारको क्रममा भत्काइएको मुख्य कार्यालय क्षेत्रको कम्पाउण्ड वाल निर्माण, गेट निर्माण तथा पेभर्स लगाउने काम गरेको थियो ।

 

यसैगरी, मुख्य कार्यालयमा रहेको ओभरहेड ट्याङकी नं १ को पम्प कम्प्रेसरलाई दियालो टेक्नोलोजीद्वारा अटोमेसन गरेको, विपन्न, अपाङ्ग, अशक्त, ज्येष्ठ संस्थालाई धारा जडान शुल्कमा २५ प्रतिशत छुट, जलस्रोतमा दर्ता रहेको खानेपानीलाई आन्तरिक राजश्व कार्यालयमा दर्ता गरेको जनाएको छ ।

 

त्यसैगरी समितिले गत आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकारको अनुदानबाट मुख्य कार्यालयमा एक थान डिप बोरिङ निर्माण, कर्मचारीको लागि ई-हाजिरीको व्यवस्था गरेको छ । त्यस्तै चालु आर्थिक वर्ष २०८१/०८२ मा एसवाई प्यानलको प्रयोगबाट समितिलाई आवश्यक बैठक हलको निर्माण सम्पन्न गरेको उल्लेख छ ।

 

अर्जुनधारा ६ कप्तानबारीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र अर्जुनधारा ७ स्थित पालिकाको एकमात्र शनिश्चरे बहुमुखी क्याम्पसमा निःशुल्क धारा जडान तथा अर्जुनधारा ८ स्थित नयाँ कृषि बजार क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल शनिश्चरे बेसमा निःशुल्क धारा जडान गर्ने निर्णय गरेको छ ।

 

आर्थिक अभावका कारण धारा जडान गर्न नसक्ने उपभोक्ताका लागि गत माघ १५ देखि किस्ताबन्दीमा धारा जडान गर्ने सेवा शुरु गरेको समितिले अर्जुनधारा ९ मगरचोकस्थित ओभरहेड ट्याङकी नं २ लाई दियालो टेक्नोलोजीद्वारा पम्प÷कम्प्रेसर आदिलाई अटोमेसन गरेको छ ।

 

त्यस्तै, ठेक्कामार्फत् हाल १८ करोड बराबरको लागतमा वृहत खानेपानी आयोजना अन्तर्गत गर्नुपर्ने विभिन्न कार्यहरुमध्ये केही निर्माण सम्पन्न भएको र केही निर्माण भइरहेको अवस्थामा रहेको छ ।

 

नगरपालिकाअन्तर्गत ५, ६, ७, ८, ९, १० र ११ नम्बर वडाका ६ हजार ८१५ घरधुरीका ३० हजार तीन जना जनसंख्यालाई प्रत्यक्ष लाभान्वित हुने गरि सञ्चालनरत उक्त आयोजनाअन्तर्गत १८० किलोमिटरमध्ये हालसम्म ८० किलोमिटरभन्दा बढी सडकको दुवैतर्फ पाइपलाइन विस्तार कार्य भइरहेको छ भने एक थान डिप बोरिङ, एक थान भवन निर्माण, भल्भ, च्याम्बर, एक थान जेनेरेटर, एक थान ट्रान्सफर्मर र एक थान ट्रिटमेन्ट प्लान्ट जडानको कार्य सम्पन्न भएको छ ।

 

आगामी आर्थिक वर्ष २०८२/०८३ भित्र सम्पन्न गर्नुपर्ने उक्त आयोजना वर्तमान समितिको लागि महत्वपूर्ण उपलब्धी र उपभोक्ताहरुको लागि अर्थपूर्ण योजना भएको अध्यक्ष शिवाकोटीले दाबी गरेका छन् ।

 

हाल संस्थाको मुख्य कार्यालय र मगर चोकमा रहेको क्रमशः दुई लाख २५ हजार र चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङकीसँगै अर्जुनधारा ८ गढीगाँउ क्षेत्रमा संस्थालाई प्राप्त भएको १० कठ्ठा जमिनमा चार लाख ५० हजार लिटर क्षमताको थप एउटा ओभरहेड ट्याङकी बनाउने समितिको लक्ष्य रहेको छ ।

 

त्यसको लागि संघीय सरकार र प्रदेश सरकारसँग पहल गरेको समितिको तेस्रो ओभरहेड ट्याङकी निर्माण गर्ने योजना सफल भएको खण्डमा पालिकाको ७ वटा वडामा बस्ने सबै उपभोक्ताको पहुँचमा खानेपानी सहजरुपमा पुग्ने बताइएको छ । समितिका अध्यक्ष शिवोकोटीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन सचिव राकेश ढकालले गरेका थिए ।