इलाम । झापाको बुट्टाबारी युनाइटेड एफसी यहाँ जारी पाँचौ सन्दकपुर गोल्डकपको उपाधि नजिक पुगेको छ । गतवर्ष पनि बुट्टाबारी फाइनल पुगेर उपविजेतामा सीमित बनेकाे थियाे । बुट्टाबारीकाे फाइनल यात्रा लगातार तेस्राे पटक हाे ।

 

सहिद सात खाल्डे मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी रेडहर्ष एफसी इलामलाई २-० गोलले पराजित गर्दै बुट्टाबारीले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

 

बुट्टाबारीका लागि दुबै गोल सागर रसाइलीले गरे । उनी प्लेयर अफ दि म्याच बन्दै नगद दुई हजार पॉच सयसहित ट्रफी प्राप्त गरे । इलामसँग बुट्टाबारीको भेट यो छैटौँ हो । यसअघि ३ पटक बुट्टाबारीले आफ्नो पक्षमा पारेको थियो ।

 

बुट्टाबारीले अब उदयपुरको ब्रदरहुड एफसीसँग वैशाख १ गते फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन डॉगीहाट फुटबल क्लब मोरङलाइ ४(२ गोलअन्तरले पराजित गर्दै उदयपुरले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

 

देउराली स्पोर्टिङ क्लब सन्दकपुरले आयोजना गरेको गोल्डकपको विजेताले नगद २ लाख ५५ हजार र उपविजेता बन्ने टिमले नगद १ लाख ५५ हजारसहित ट्रफी पाउने छ ।