झापा । राजगढ फुटबल क्लब झापाको बुद्धशान्तिमा जारी एन्फा रेफ्री स्व लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा शिवसताक्षी स्पोर्टिङ क्लबलाई ४-१ गोलअन्तरले पराजित गर्दै राजगढ उपाधि नजिक पुगेको हो । जितसँगै राजगढले कम्तीमा ४० हजार सुरक्षित गरेको छ ।

 

राजगढका लागि सञ्जय लिम्बू श्याम मुर्मु दिपेश श्रेष्ठ र हिमाल गुरूङले गोल गरेका हुन् । शिवसताक्षी स्पोर्टिङ क्लबका लागि दिपेन शेर्माले मात्र सान्त्वना गोल गरे ।

 

खेलको प्लेयर अफ दि म्याच राजगढ फुटबल क्लबका श्याम मुर्मु घोषित हुँदै नगद १ हजार ५ सय प्राप्त गरे । आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्री संघका सदस्यसमेत रहेका ढुंगानाको गतवर्ष निधन भएको थियो ।

 

आज हुने अन्तिम सेमिफाइनल खेलमा न्यु स्टार क्लब बिर्तामोडले ध्रुवतारा स्पोर्टिङ क्लब दमकसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद ७० हजार र आकर्षक ट्रफी पाउने छ ।