अर्जुनधारा । झापाको अर्जुनधारामा सम्पन्न उपप्रमुख कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबका बिनय चौधरी र भोजबहादुर गुरुङको जोडीले हात पारेको छ ।

 

उपाधीसँगै उनीहरुका जोडीले नगद ४० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । चौधरी र गुरुङको जोडीले दिवस साशंकर र विशाल तामाङको जोडीलाई २१-१३ र २१-११ को सोझो सेटमा हराएर उपाधि उचाल्यो ।

 

उपविजेता बनेको साशंकर र तामाङको जोडीले नगद २५ हजार पुरस्कार पायो । प्रतियोगितामा सुनिल कार्की र महेश राई तथा जुनुन राई र उत्सव उप्रेतीको जोडी तेस्रो भयो । तेस्रो हुने जोडीले १० हजार रुपैंयाँको दरले पुरस्कार पायो ।

 

प्रदेशस्तरीय भेट्रान्सतर्फ पाँचथरका दिपक आङदेम्बे र अनिल थाम्सुहाङले २१-१७ र २१-१४ को नतिजा निकाल्दै उपाधि हात पारेका छन् । उनीहरुले नगद ३० हजार पुरस्कार प्राप्त गरे । उपविजेता बनेका झापाका सञ्जय भक्तराज र केडी गुरुङको जोडीले नगद २० हजारमा चित्त बुझाए ।

 

तेस्रो हुने ओम खड्का र रमेश प्रसाई तथा उत्तम सिम्खडा र राजेश उप्रेतीको जोडीले ६ हजारका दरले पुरस्कार पाए । झापाका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी लक्षित अर्को विधाको पुरस्कार भने कमल गाउँपालिकाका सन्तोष राई र राजेश उप्रेतीको जोडीले हात पारेको छ ।

 

भद्रपुर नगरपालिकामाथि २१-१९ र २१-८ को सोझो सेटमा हावी हुँदै कमल गाउँपालिका विजेता बनेको हो । २० हजार रुपैयाँ प्रथम पुरस्कार रहेको यस विधामा भद्रपुरका प्रज्वल ओझा र राजधन राईको जोडी दोस्रो भयो । उनीहरुले नगद १० हजार पुरस्कार पाए । भद्रपुरका सुर्य कटवाल र दावा तामाङ तथा बिर्तामोडका ओम खड्का र नवराज थापा तेस्रो भए । उनीहरुको जोडीले ४ हजार रुपैयाँको दरले पुरस्कार पायो ।

 

अर्जुनधाराका ११ वटा वडाको पनि प्रतियोगितामा सहभागिता रहेको थियो । वडास्तरीय प्रतियोगिताको उपाधि भने अर्जुजधारा-६ ले हात पारेको छ । २१-१४, १२-२१ र २१-१८ को सेटमा नतिजा निकाल्दै सैलेन्द्र कुरुङवाङ र निरज सिलवालको जोडीले वडास्तरीय प्रतियोगिताको उपाधि रक्षा गरेको हो । उनीहरुको जोडीले नगद १५ हजार रुपैंयाँ पुरस्कार पायो ।

 

वडा न ११ का नन्दहाङ नेम्वाङ र वीरबहादुर राईको जोडी दोस्रो भयो । उनीहरुले नगद १० हजार पुरस्कार पाए । सुमन राई र भुपेन्द्र थापा तथा आशिष बिष्ट र एल्सन गदाइलीको जोडी तेस्रो हुँदै नगद २ हजार ५०० का दरले पुरस्कार पायो ।

 

प्रतियोगिताको विजेतालाई नगर प्रमुख बलदेबसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाललगायतले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

 

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा २०० जना खेलाडीको सहभागिता रहेको थियो । समितिका अध्यक्ष धिमालको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रमको सञ्चालन सदस्य तिलक योञ्जनले गरेका थिए ।