बिर्तामोड । झापाको बिर्तामोडमा राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ आज बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत आयोजकले उभौली पर्व प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताु गर्न लागिएको जानकारी दिएको हो।

 

प्रतियोगिता आगामी जेठ २ गतेदेखि ४ गतेसम्म बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएको छ । बालबालिकाहरुलाई कुलतबाट बचाउन र दिमागको विकास गर्न प्रतियोगिताको आयोजना गरिएको आयोजक बिर्तामोड चेस क्लबका अध्यक्ष नारायण राईले बताए ।

 

किरात याक्थुङ चुम्लुङ बिर्तामोडको सहआयोजनामा हुन लागेको प्रतियोगितामा १५० जनाभन्दा बढी राष्ट्रिय खेलाडीहरू सहभागी हुने चेस क्लबका खेल डाइरेक्टर ज्वाला इम्बुङले जानकारी दिए ।

 

सहआयोजक संस्थाका अध्यक्ष हिमालय कन्दङ्वाका अनुसार प्रतियोगितामा प्रथम हुनेले पुरस्कार ५१ हजार, दोश्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको विभिन्न विधाका विजेताले नगद ६ हजारदेखि माथि पुरस्कार प्राप्त गर्नेछन् ।

 

प्रतियोगितामा विधागत र भूगोलको आधारमा समेत पुरस्कार दिइने भएको छ । कार्यक्रम सम्पन्न गर्न ९ लाख ६१ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम प्रेस संयोजक विजय बरालले सञ्चालन गरेका थिए ।

 

प्रतियोगिताले आन्तरिक प्रर्यटनको प्रवद्र्धन, स्थानीय खेलाडी उत्पादनसँगै सिङ्गो प्रदेशको परिचयलाई स्थापित गराउने आयोजकको बुझाई छ ।