मेचीनगर । सशस्त्र प्रहरीले झापामा स्रोत नखुलेको करिब १५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर ७, जोरसिमलमा बुधबार बिहान चेकजाँचका क्रममा स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ उर्लाबारी ८ का ३८ वर्षीय डम्बरबहादुर कार्की रहेका छन् । काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा उनलाई सो रकमसहित पक्राउ गरिएको जनाइएको छ ।

 

भारतीय रुपैयाँको नेपाली मूल्य करिब २३ लाख ९९ हजार ५२० रहेको छ । बरामद नगदसहित उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ ।