बिर्तामोड । झापा गोल्डकपले बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुखलाई गोल्डकप आयोजक समितिको संरक्षकको जिम्मेवारी प्रदान गरेको छ।

 

झापा गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले बिर्तामोड नगर प्रमुख र उपप्रमुखलाई संरक्षक राख्ने निर्णय गरेको हो। संरक्षकको रूपमा रहेका नगर प्रमुख पवित्रा महतरा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई गोल्डकपले औपचारिक पत्रसमेत प्रदान गरेको छ।

 

नगर प्रमुखको कार्यकक्षमा आयोजित संक्षिप्त कार्यक्रमका बीच अध्यक्ष गिरीले नगर प्रमुख प्रसाईं र उपप्रमुख संग्रौलालाई संरक्षकत्वको पत्र सम्मानसहित प्रदान गरेको हो।

 

यसैबीच, झापा गोल्डकपले आगामी फागुनमा प्रस्ताव गरेको सातौं संस्करणका लागि बिर्तामोड नगरपालिकासहित झापाका १५ वटै स्थानीय तहमा आफ्नो प्रस्तावना पत्र पेश गरेको छ।

 

झापा गोल्डकपको सातौं संस्करणलाई भव्यतापूर्वक सम्पन्न गर्न गोल्डकप आयोजक समितिले स्थानीय सरकारहरूसमक्ष सहयोगको अपेक्षासहित आफ्नो प्रस्तावना पत्र पेश गरेको हो।